सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरू सम्मिलित सर्वदलीय बैठकमा संसद् बैठकलाई सञ्चालन गर्न पहल गर्ने तथा सदनमा पेस हुने क्रममा रहेका विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा आज सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा विपक्षीलगायत संसद्मा प्रतिनिधित्व गर्ने सबै दलसँग नियमित छलफल गरेर सदनको कामकारबाहीलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने विषयमा छलफल भएको छ ।
बैठकमा राष्ट्रिय महत्वका विषयमा आमसहमति बनाउन सबैले पहल गर्ने विषयमा पनि छलफल भएको सभामुख सापकोटाले जानकारी दिए। “आजको बैठकले संसद् सञ्चालन गर्नका निम्ति सबैलाई गम्भीर बनाएको छ, सदन खुलाउन पहल गर्ने अनुभूति भएको छ, यसका साथै विधेयकसम्बन्धी धेरै गम्भीर ढङ्गले छलफल भएको छ”, बैठकपछि उने भने, “नागरिकता, नागरिक उड्डयनलगायत महत्वपूर्ण विधेयक पारित गर्नुपर्नेछ, राष्ट्रियसभाबाट पारित भएर आएका विधेयक पारित गर्नुपर्ने अवस्था छ ।”
सदनबाट पारित हुनुपर्ने विधेयकबारे आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र विभिन्न राजनीतिक दलका नेतासँग गम्भीर ढङ्गबाट कुरा राखेको उनले जानकारी दिए । “समसामयिक विषय र राष्ट्रिय जीवनका सबै समस्याहरूमा व्यापक छलफल भएको छ, यो छलफललाई जारी राख्नुपर्छ भन्ने सबैको समान धारणा आएको छ”, सभामुख सापकोटाले भने । उनले सदनलाई सञ्चालन गर्न पहल र प्रयत्न गर्ने तथा थाती विधेयक पारित गर्न र राष्ट्रिय रूपमा देखिएका समस्या समाधान गर्न अधिकतम पहलकदमी लिइने बताए। सदनलाई सञ्चालन गर्नका लागि छलफलको वातावरण बनाउनु नै राष्ट्रको महत्वपूर्ण विषय भएकामा सबैको एकमत पाएको उनले बताए ।
एमसिसी सम्झौताका बारेमा पनि सबैले आ¬–आफ्नो धारणा राखिरहेको स्पष्ट रहेको उल्लेख गर्दै उनले आफूले तटस्थ, निष्पक्ष र स्वतन्त्र ढङ्गबाट निर्णय लिइने बताए। एमसिसीलाई कसरी अगाडि बढाउने भन्ने विषय दलहरूको हातमा रहेको बताउँदै उनले भने, “निर्णायकको भूमिका त दलहरूकै हुन्छ ।”
बैठकमा सहभागी नेकपा ९एकीकृत समाजवादी० का नेता जीवनराम श्रेष्ठले संसद्लाई सञ्चालन गर्ने सन्दर्भमा सभामुखले सर्वदलीय बैठकको आह्वान गरेको बताए । संसद्मा रहेका महत्वपूर्ण विधेयकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा बैठकमा छलफल भएको उनले बताए । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले लगातार संसद् अवरोध गरिरहँदा नागरिकता, महिला हिंसा रोकथामलगायत ४२ विधेयक संसद्मा अलपत्र परेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-