निसीखोला । बागलुङको निसीखोला गाउँपालिका वडा नं. ५ मा रहेको बडवानखोला मसालगाउँ नमूना कृषि सहकारी लिमिटेडले पशु पकेट क्षेत्र स्थापना तथा विस्तार कार्यक्रम अन्तर्गत अनुदान रकम पाएको छ ।
पशु पकेट क्षेत्र स्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत बडवानखोला मसालगाउँ नमूना कृषि सहकारी लिमिटेडले आठ लाख अनुदान पाएका हो ।
जिल्लाको काठेखोला गाउँपालिका–८ स्थित कादेश कृषि तथा पशुपालन समूह, निसीखोला गाउँपालिका–५ स्थित बडवानखोला मसालगाउँ नमूना कृषि सहकारी लिमिटेड र बागलुङ नगरपालिका–११ स्थित आफ्रे कृषक समूहले रु आठ लाखका दरले अनुदान पाएका छन् । यो संगै पशुपालक किसानहरुले यो आर्थिक वर्षमा झन्डै डेढ करोड अनुदान पाएका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गण्डकी प्रदेश सरकारको रु एक करोड सात लाख ५० हजार र सङ्घीय सरकारको रु ५० लाख बजेट गरी जम्मा रु एक करोड ५७ लाख ५० हजारबाट जिल्लाका १२७ पशुपालक कृषक, फर्म तथा सहकारीहरुले अनुदान पाउन थालेका छन् ।
प्रदेश सरकारको साना पशुपन्छी तथा मत्स्य नमूना फर्म स्थापना तथा विस्तार कार्यक्रमअन्र्तगत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुपालक कृषकहरुलाई निवेदनका लागि आह्वान गरेकामा २६९ फार्मको आवेदन परेको थियो । ती मध्ये छनोटका विभिन्न आधार मूल्याङ्कन गर्दा ७० फार्महरुले रु एक लाख पाँच हजारका दरले अनुदान पाउन स्वीकृत भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका पशु अधिकृत केशवप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार यो आर्थिक वर्षको स्वीकृत योजनाअनुसार साना पशुपन्छी तथा मत्स्य नमूना फर्म स्थापना र विस्तारका लागि २३ बाख्रापालन , १७ बङ्गुर, १६ गाईभँैसी र १४ कुखुरा फार्मले रु ७३ लाख ५० हजार अनुदान पाउनका लागि धमाधम सम्झौता गरिरहेका छन् । यस्तै सङ्घीय सरकारको रु ५० लाख बजेटमा गलकोट नगरपालिकामा बाख्रा पकेट क्षेत्र र बागलुङ नगरपालिकामा बङ्गुर पकेट क्षेत्रका दागि २५ लाखका दरले अनुदान कार्यक्रम स्वीकृत भएको छ ।
जसमध्ये दुई पकेट क्षेत्रका उत्कृष्ट २५÷२५ किसानलाई एक लाखका दरले रु ५० लाख अनुदान दिइनेछ । तर पकेट क्षेत्र अनुदान कार्यक्रम भने छनोटकै चरणमा रहेको छ । यस्तै भैँसी विकास कार्यक्रमअन्र्तगत पाला दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानहरुले रु १० लाख अनुदान प्राप्त गरेका छन् ।
साना व्यावसायिक फर्मअन्तर्गत अनुदानमा आवेदन दिनका लागि बाख्रा १५ माउ, बङ्गुर पाँच माउ र भैँसी पाँच माउ, स्थानीय कुखुरा २५०, लियर्स जातको कुखुरा ५०० र ब्वायलर एक हजार हुन आवश्यक छ । त्यसको अतिरिक्त फर्म रहेको जमिनको अवस्था, बजारीकरणको अवस्था, वैदेशिक रोजगारीबाट फर्केको, कृषकले ल्याएको तालिम लगायतको कुरालाई दृष्टिगत गर्दै अनुदान स्वीकृत गरिँदै आएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले जानकारी दिए। प्रत्यक्ष रुपमा १२७ कृषक लाभान्वित हुने भए पनि सहकारी र समूहमार्फत अप्रत्यक्ष अनुदान पाउने कृषकहरु धेरै छन् ।रासस
प्रतिक्रिया लेख्नुहोस्:-