पोखरा । सहारा क्लव पोखराको आयोजनामा जारी आहा !रारा गोल्डकपमा भोलिदेखिका खेलमा दर्शकहरुले प्रत्यक्ष अवलोकन गर्न पाउने भएका छन् ।
कोरोना संक्रमण प्रकोपको कारण बिना दर्शक सञ्चालन गर्दै आएको प्रतियोगिता अन्गर्त सेमिफाइनल चरण र फाइनल खेल दर्शकहरुले हेर्न सक्ने व्यवस्था गरेको आयोजकले विज्ञप्ती जारी गर्दै जनाएको हो । आयोजकले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै एक तिहाई दर्शकले खेलको प्रत्यक्ष अवलोकन गर्न पाउने गरि तयारी गरिएको आयोजक सहारा क्लवले विज्ञप्तीमा जनाएको छ ।
विज्ञप्तीमा ‘दर्शकको प्रत्यक्ष खेल अवलोकन गर्ने तिव्र चाहनाको सम्मान गर्दै क्लवले स्वास्थ्यका मापदण्डलाई अबलम्बन गरि आउदा सेमी फाइनल खेलहरु र फाइनल खेल नेपाल सरकारले इजाजत गरे अनुरुप सिट क्षमताको एक तिहाई टिकट विक्री गरि प्रतियोगिता सञ्चालन हुने जानकारी गराउँदछौं ।’
खेल हेर्नका लागि प्रभु पेको अनलाईन एपबाट टिकट किन्न सकिने व्यवस्था गरिएको क्लवका महासचिव रामजी प्रसाद अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ । ३ सय रुपैयाँ निर्धारण गरिएको टिकटको खरिद गर्नेहरु मध्यबाट एक जनालाई गोलाप्रथामार्फत एलजी टिभी एक थान पुरस्कार स्वरुप प्रदान गरिने आयोजकले जनाएको छ ।
साथै दर्शकले प्रतियोगिता अवलोकनका लागि खोप कार्ड भने अनिवार्य गरिएको छ ।
‘खेलकुदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ उद्देश्यका साथ सहारा क्लवको आयोजनामा यही माघ ६ गतेदेखि २० औं आहा रारा गोल्डकप प्रतियोगिता सञ्चालन भइरहेको छ ।
प्रतियोगितामा तीन विभागीय क्लब त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब र एपीएफ क्लब सहित ए डिभिजनका मनाङ मस्र्याङ्दी क्लब, मछिन्द्र क्लब, संकटा क्लब, थ्रीस्टार र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएको प्रतियोगितामा मछिन्द्र क्लब, एपीएफ, त्रिभुवन आर्मी, मनाङ मस्र्याङ्दीले सेमिफाइनलमा स्थान बनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-