सप्तरीमा रोकिरहेको तेल ट्याङ्करलाई ट्रकले ठक्कर दिएर भएको दुर्घटनामा एक बालिकाको ज्यान गएकाे छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गा नगरपालिका–४ कदमाहामा रोकिरहेको को १ ख ६९५६ नम्बरको तेल ट्याङ्करलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ३४२२ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्रक चालक सुनसरीको रामधुनी ईकराही नगरपालिका–४ का आशाराम चौधरीकी नाै वर्षीया छोरी मेनुकाकाे घटनास्थलमै ज्यान गएकाे सप्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिनुभयाे ।
दुर्घटनामा ट्रक चालक ४५ वर्षीय चौधरी, उहाँकी ४० वर्षीया श्रीमती चन्द्रकला र २३ वर्षीय छोरा आशिष चौधरी घाइते भएका छन् । घाइतेहरूकाे लहानमा उपचार भइरहेको छ । ट्रक र ट्याङ्कर नियन्त्रणमा लिइएकाे र फरार भएका ट्याङ्कर चालकको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-