रामेछाप – निर्माण भएको एक वर्ष नबित्दै मन्थली नगरपालिका-१२ मा रहेको श्री माध्यामिक विद्यालय चुहिन थालेको छ ।
एसियाली विकास बैंक (एडीबी)काे आर्थिक सहयोगमा भर्खरै निमार्ण सम्पन्न भएको नयाँ सुविधा सम्पन्न विद्यालय भवनको छतबाट भुइँतलासम्मै पानी चुहिएर कक्षा कोठा डुबानमा परेका छन् । वि.स. २०७२ सालको विनाशकारी भूकम्पले पुरानो विद्यालय भवन भत्काएपछि एडीबीको आर्थिक सहयोगमा नयाँ भवन निमार्ण गरिएको हो । भवन निमार्णको जिम्मेवारी पाएको खानी निमार्ण सेवा प्रालिले कमजोर र गुणस्तहीन सामाग्री प्रयोग गरेका कारण नयाँ भवनको छतबाट पानी चुहिएको स्थानीय अभिभावकहरुले आरोप लगाएका छन् ।
विद्यालयका दुईवटा भवन एडीपीको ७ करोड ४६ लाख २४ हजार ७ सय ४५ रुपैयाँको लागतमा निमार्ण सम्पन्न भएको हो । २०७५ सालमा निमार्ण कार्य शुरु भएर २०७७ चैत्र २८ गते सम्पन्न भएको थियो । निमार्ण सम्पन्न भएका दुईवटा भवनमा गरि २१ वटा कक्षा कोठा, ६ वटा शौचालय र घेराबार समेत रहेको श्री माध्यमिक विद्यालयका प्रध्यानाध्यापक पवन खड्काले जानकारी दिनुभयाे
वर्षातका कारण आकाशको पानी सबै भवन भित्र छिरेर कक्षा कोठाभरि पानी भरिएपछि अहिले ती कक्षाकोठामा पढाइ बन्द गरिएको प्रअ खडकाले बताउनुभयो । भूकम्पले पुरानो विद्यालय भवन भत्किएपछि एडीबीको सहयोगमा नयाँ भवन बन्दा खुसी भएका शिक्षक तथा अभिभावकहरु बनेको नयाँ भवन पनि बिग्रेपछि चिन्तित बनेका छन् ।
विद्यालयमा जडान भएको विद्युत लाइन सर्ट भएर विद्यार्थीहरुलाई करेन्ट लाग्ने पो ही की भन्ने चिन्ताले आफूहरुलाई सताएको मन्थली–१२ गेलुका कर्णवहादुर पाण्डेले बताउनुभयो । ‘विद्यालय गएका बालबालिका सकुशल फर्केर आउँछन कि आउँदैनन् भन्ने चिन्ताले सबै अभिभावकहरुलाई सताएको छ’, उहाँले भन्नुभयो, ‘विद्यालयको घेराबार सबै लडेको छ । भुइँतलामा गरेको ढलान सबै उप्किएको छ ।’ विद्यालय निमार्ण गर्दा धेरै लापर्बाही भएको उहाँको भनाइ छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुशहरि बुढाका अनुसार विद्यालय भवन निमार्ण व्यवसायीले विधिवत रुपमा हस्तान्तरण गर्न बाँकी नै छ । विद्यालयको अवस्थाबारे निमार्ण व्यवसायी र जिल्ला आयोजना कार्यालय (शिक्षा)लाई जानकारी गराइसकेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया लेख्नुहोस्:-